पोखरा । पोखरा वृद्धाश्रम एवं निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष वसन्तकेशव पराजुलीको छैठाैँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
सो अवसरमा पोखरा र आसपासका जिल्लाका ज्येष्ठ नागरिकलाई लक्षित गरी डिमेन्सिया अर्थात अल्जाईमर रोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
मनोरोग विज्ञ डा. राजन शर्माले अल्जाइमर एवं डिमेन्सिया रोगबारे नेपाली जनमानसमा धेरै जानकारी नभएको बताए । उनले यो विषयमा जनचेतना जगाउने कार्यक्रम अत्यन्त न्यून रहेका कारण यस्तो बिर्सने रोग वृद्धि भएको स्पष्ट पारे ।
डिमेन्सिया अल्जाईमर रोग आँफैमा ‘सुशुप्त मृत्युजञ्य’ अर्थात साईलेन्स किलर छ भन्दै डा.शर्माले संसारमा अहिले यस्तो नसर्ने रोगको प्रकोप बढ्दै गएको बारे चिन्ता व्यक्त गरे ।
डिमेन्सिया रोगबाट पीडित भएका बिरामी र उनीहरुको मृत्युको संख्या नेपालमा कति छन् भनेर आधिकारिक तथ्यांक नभए पनि करिब पाँच प्रतिशतको हाराहारीमा विश्वको जनसंख्या यो रोगबाट पीडित भएको विश्व स्वास्थ्य संगठनको आँकडाले देखाएको छ ।
साइलेन्स किलर यस्तो रोगबारे ब्यापक जनचेतना जगाउन नसकेमा नेपालमा पनि १० प्रतिशत ज्येष्ठ नागरिक धेरैथोरै यो रोगबाट ग्रसित हुँदै जाने अवस्था रहेको उनले जानकारी दिए ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विजय बस्नेतले डिमेन्सिया रोग न्यूनीकरणका लागि अपनाउनुपर्ने तरिका बारे स्पष्ट पारेका थिए ।
सो अवसरमा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालीन केन्द्रीय सल्लाहकार एवं पोखरा वृद्धाश्रममा दुई दशकसम्म अनवरत सेवा गर्नुुभएका पराजुलीको स्मृति दिवस हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको बताए ।
गण्डकी प्रदेसभा सदस्य भीमबहादुर कार्कीले यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्य, ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका सचिव ईच्छाबहादुर वाग्ले, स्याङ्गजा जिल्लाबाट आएकी नेपालका पहिलो महिला विकास अधिकृत कल्पना बस्याललगायतले बोलेका थिए ।
निवृत्त शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछानेले पूर्वशिक्षक एवं सामाजिक अभियन्ता वसन्त केशव पराजुलीको योगदान बारे चर्चा गरे ।
कार्यक्रममा गण्डकी प्रदेशमा रहेका अधिकांश जिल्लाबाट आएका ज्येष्ठ नागरिक र कास्की जिल्लामा रहेका पूर्वशिक्षक, बौद्धिक व्यक्तित्व र समाजिक क्षेत्रमा कार्यरत अभियान्ता सहभागी थिए ।
कार्यक्रममा हालैमात्र नेपाल सरकारले काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा पोखरा वृद्धाश्रमलाई सम्मान एवं पुरस्कृत गरेको वृद्धाश्रमका उपाध्यक्ष केशवराज लम्सालले जानकारी दिए ।





